भिम भुसाल, देवचुली ।
सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानलाई तिव्रता दिएसँगै देशभर खोप लगाउनको लागि उल्लेख्य उपस्थिति रहेको छ । स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार अहिले नेपालमा पर्याप्त मात्रामा खोप उपलब्ध रहेकाले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरू मार्फत पालिकासँगको समन्वयमा खोप अभियान चलिरहेको छ ।
नवलपुर जिल्लाको देवचुली नगरपालिकाले सञ्चालन गरेको विभिन्न खोप केन्द्रमा समेत खोप लगाउन स्थानियको सहभागिता रहेको छ । प्रत्येक खोप केन्द्रमा विगत २ दिन देखि करिव १५ सयको हारहारीमा स्थानिय उपस्थित रहेर खोप लगाईरहेका छन् । दिनानुदिन खोप केन्द्रमा बढ्दो भिडलाई ब्यवस्थापन गर्न स्थनिय क्लव परिचालित भएका छन् । देवचुलीको दुम्कौली अस्पतालमा चलिरहेको खोप अभियानलाई ब्यवस्थित बनाउन शुभ प्रभात समाजका युवाहरु परिचालित भएका हुन् । समाजका १० स्वयंसेवकले भिडमा लाईन ब्यवस्थापन, नामावली दर्ता, वृद्ध अशंक्त तथा विरामिलाई सहजरुपमा खोप लिन सक्ने बातावरण बनाईरहेको स्वयंसेवक शुसिल चापागाईले पावर संदेशलाई बताउनुभयो । अन्य खोप केन्द्रमा समेत खोप लगाउन आउने ब्यक्तिलाई ब्यवस्थित र सहज बातावरण तयार पार्न स्थानिय स्तरमा रहेका युवा क्लव तथा संघ संस्थालाई चापागाईको आग्रह छ ।
देवचुली नगरपालिकाले प्रत्येक खोप केन्द्रमा १० जना सम्म कर्मचारी परिचान गरेको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । खोप केन्द्रमा भएको भिडलाई ब्यवस्थित बनाउन प्रहरी समेत परिचान गरिएको छ । ब्यक्ति खोप लगाउन आँउदा धैर्य र सुरक्षित भई आफ्नो स्वास्थ्यको सुरक्षा आफै गर्नुपर्ने आवश्यकता छ ।