भिम भुसाल, देवचुली ।
सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सकृयतामा नवलपुरको पहाडि क्षेत्रमा जाने सवारी चेकजाँचलाई निरन्तरता दिईएको छ । नवलपुरको दलदलेदेखि उत्तर पहाडतर्फ जाने सवारीमा अत्याधिक यात्रु र चोरिका मोटरसाईकल फेला पर्नेहुँदा प्रहरिले चेकजाँचलाई निरन्तरता दिएको हो ।
तर प्रहरीले गरेको चेकजाँचले पहाडि क्षेत्रमा रहेको होटल ब्यवसायिलाई भने असर गरेको ब्यवसायिको गुनासो छ । चाडपर्वको समयमा दलदले, प्रगतिनगर कावासोती लगाएत चितवनबाट आउने पर्यटकलाई प्रहरिले मुण्डेमा नै चेकजाँच गरिदिदाँ रमाउन कुम्सोत सम्म पुग्ने यात्रु बिचबाटो बाटै फर्किन बाध्य रहेका ब्यवसायिको गुनासो छ ।
प्रहरिले सवारी चेकजाँच मुण्डेमा नै गर्दा पर्यटक घट्नुका साथै सवारीमा भरिभराउ आएका यात्रु सवारी चेकजाँच स्थलमा पैदल हिड्ने र पहाडि क्षेत्रमा पुन भरिभराउका साथ यात्रा गर्ने हुदाँ प्रहरीको काम आँखामा छारो हाल्ने मात्रै भएको होटल रातो बङ्लाका सञ्चालक सुमन श्रेष्ठले गुनासो गर्नुभएको छ । श्रेष्ठका अनुशार प्रहरीले सवारी चेकजाँच कुम्सोत क्षेत्रमा गर्नुपर्ने माग गर्नुभएको छ । त्यसो गर्दा प्रहरिको आँखा छलेर आएका सवारीलाई समेत कारवाही गर्न सकिने र आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो ।
हाल जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा मुण्डे चोकमा नै सवारी चेकजाँच हुँदै आएको छ ।