नवलपुर। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम सञ्चार विद्येयकको नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विरोध गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको आज कावासोतीमा बसेको कार्यसमिति बैठकले प्रेस माथि अंकुश लगाउने विद्येयक तत्काल फिर्ता लिन माग गरेको छ । प्रदेश सभाको विद्यायन समितिमा छलफलका लागि पेश भएको विद्येयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने ठहर गर्दै तत्काल विद्येयक फिर्ता लिन नवलपुर शाखाले माग गरेको हो । महासङ्घले यसको विरोधमा विद्येयक फिर्ता लिन दवाव दिन जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको महासंघ अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो ।