हाम्रो देशका बालबालिकाहरुको पहिलो समस्या भनेको विद्यालय जान नपाउनु हो । अझै भनौ विद्यालय जान पाए पनि विचमा नै महंगो शुल्क र गरिबीका कारण उच्च शिक्षा सम्म सामान्य परिवारका व्यक्तिहरुको पहुँच नहुनु । अहिले कोरोना महामारीको समयमा नै हेर्ने हो भने अनलाईन प्रविधिबाट पढाइ गर्ने भनेर जति ठुला कुरा गरे पनि अनलाइन शिक्षा कति प्रभावकारी भयो भन्ने कुरा हाम्रो माझ प्रष्ट नै छ । यति भन्दैमा अनलाइन शिक्षा नराम्रो भन्न खोजिएको पनि हैन ।
सम्पन्न परिवारहरुका बालबालिकाहरु अझै भनौ संस्थागत विद्यालयका बालबालिकाहरु अनलाइन शिक्षा बाट बढि लाभांवित भए तर सामुदायिक विद्यालयका नत शिक्षकहरु यसमा अब्बल देखिए नत विद्यार्थिहरु नै यसबाट लाभ उठाउन पाए । अझै पनि कैयौँ बालबालिकाहरु बाल श्रमिकको रुपमा काम गरिरहेको कुरा हाम्रो वरपर देख्न सक्दछौँ, बालविबाह, बाल यौन दुव्र्यवाहर, बलात्कार, एसिड आक्रमण जस्ता कुराहरु भोग्न परिरहेको छ । एउटा नेपाली उखान छ हुनेलाइ दशैँ नहुनेलाइ दशा हो यस्तै भएको छ अहिले राष्ट्रिय बाल दिवस , तारे होटलहरुमा गरिने ठुला खालका कार्यक्रमहरुले त्यही होटलमा काम गर्ने एउटा बाल श्रमिकलाइ कुरीकुरी गरिरहेको छ । बालबालिकाहरु अझै पनि उपचारको अभावमा मृत्यु शैयामा निदाइरहेका छन् । अपांग भएका बालबालिकाहरुको अवस्था अझै त्यस्तै रहेको छ ।
बालबालिका वर्तमानका साझेदार, भविष्यका कर्णधार हुन् । बाल दिवस मात्र नभएर जुनसुकै दिवशहरुले पनि ज्यादै महत्वपुर्ण इतिहास बोकेका हुन्छन् । बाल दिवस भनेको बालबालिकाको मात्र दिवश नभएर सारा मानव जातिको दिवस हो । बाल दिवस मनाउनको प्रमुख उदेश्य भनेको नै बालअधिकारको रक्षा गर्नु हो । बाल अधिकारको प्रवर्दन गर्दे अघि बढेको खण्डमा मात्र उज्जवल समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । यसमा बालदिवसले महत्वपुर्ण भुमिका खेल्दछ । तर विडम्बना नै भन्नुपर्छ हाम्रो देशमा सरकार भएको अनुभुति कहिल्यै गर्न पाइरहेका छैनौ हामी नेपाली जनताहरु ।
राष्ट्रिय बाल दिवस , नेपालमा बाल दिवस वि.सं. २०२१ साल भाद्र ४ देखी मनाउदै आइएको हो । प्रत्येक वर्ष भाद्र ४ गतेका दिन मनाइने बाल दिवस अहिले आएर भाद्र २९ गते मनाइन्छ । नेपालमा बालदिवस रत्नराज्य लक्ष्मीदेवी शाह भारत भ्रमणको क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरिन्थ्यो त्यसबेला भारतका प्रभावशाली नेताले बालबालिकाको क्षेत्रमा गरेको यो समाजसेवी काम बाट प्रभावित भएर नेपाल फर्केपछि आफ्नो जन्मदिनको अवसर पारेर नेपालमा बाल दिवस मनाउन थालिएको हो । आफ्नो जन्मदिनको अवसर पारेर २०२१ साल भाद्र ४ गते नेपाल बाल संगठनको स्थापना गरी अनाथ बालबालिकाको संरक्षण गर्नै दिनको शुरु गरियो जसलाइ राष्ट्रिय बाल दिवस घोषणा गरी बाल दिवश मनाउन थालियो ।
राजतन्त्रको अन्त्य र प्रजातन्त्रको सुरुवात संगै नेपाल सरकारले संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धि महासन्धि सन् १९८९ लाइ १९९० सेप्टेम्बर १४ अर्थात भाद्र २९ गते अनुमोदन गरेपछि नेपालमा भाद्र २९ गतेलाइ बाल दिवसका रुपमा मनाउदै अइरहेका छौँ । बाल अधिकार सम्बन्धि महासन्धिमा बाल अधिकारका ५४ वटा धाराहरु रहेका छन् जसमा बाँच्न पाउने अधिाकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागीताको अधिकार गरि चार खण्डमा बाल अधिकार समावेस गरिएको छ ।
नेपालमा बाल अधिकार प्रवर्दन गर्नका लागी यहाँ भएको बाल क्लबहरुको ज्यादै महत्वपुर्ण भुमिका छ । हाल २५ हजार बालक्लबहरु सक्रिय रुपमा सञ्चालनमा छन् । बाल अधिकार र बाल क्लबको कुरा गरिरहँदा पहिलो नम्बरमा आउने नाम भनेको गण्डकी प्रदेश नवलपुर जिल्ला देवचुली नगरपालिकाको जागृती बाल क्लबको नाम पहिलो नम्बरमा पर्दछ । वि.सं. २०४८ साल चैत्र १९ गते नव प्रभात बाल क्लबको रुपमा स्थापना भइ २०५१ सालमा नाम परिवर्तन भइ जागृती बाल क्लब बन्यो । संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धि महासन्धिलाइ आधार मानेर जागृती बाल क्लब नेपालका संस्थापक अध्यक्ष तिलोत्तम पौडेलले तत्कालिन नेपाल सरकारलाइ विपक्ष बनाइ विना नागरिकता बाल संस्था दर्ताको माग गर्दे सर्वोच्च अदालतमा वि.सं. २०५५ माघ ४ गते मुद्दा दायर गर्नुभयो । २०५८ साउन २५ गते सर्वोच्च अदालत बाट बाल क्लब दर्ता गर्नका लागि प्रमादेश जारी भए संगै पहिलो बाल संस्थाका रुपमा जागृती बाल क्लब नेपाल जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भयो ।
यसरी नेपालमा बाल अधिकारका लागी थुप्रै किसीमका पैरवीहरु हुदै आएका छन् । नेपाल सरकारले वि.सं. २०६८ सालमा बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ जारी गरि बाल अधिकारकार प्रर्वदध र बाल अधिकार रक्षाको लागि नयाँ कामको सुरुवात गर्यो बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो । यसले स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ ।
नेपालकै पहिलो बाल मैत्री स्थानिय निकायका रुपमा प्रगतिनगर गा.वि.स (हाल देवचुली नगरपालीका) वि.सं. २०७० साल पैष ९ गते बालमैत्री गा.वि.स घोषण भयो । संघिय शासन लागू भए पश्चात नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल बन्यो भने दोस्रो देवचुली नगरपालिका भयो ।
अहिले देशभरी करिब २० वटा स्थानिय तहहरु बालमैत्री घोषणा भइसकेका छन् । अहिले बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ समेत जारी भइसकेको अवस्था छ । बालमैत्रीको विषय ज्यादै संवेदनशील विषय हो र यहाँ केही परिभाषा मात्र बताउन खोजेको छु । बालमैत्री स्थानिय शासनमा समेटिने विषय भनेको बाँच्न पाउने अधिकार , संरक्षणको अधिकार , विकासको अधिकार र सहभागीताको अधिकारलाइ संस्थागत गर्ने नै हो । हाम्रो गौरवमय इतिहास् रच्नका लागि काम गर्ने ति तमाम संघसस्थाहरु तथा योगदान गर्ने व्यक्तिहरु सधै धन्यवादका पात्र हुन् र उनिहरु सधै सम्माननीय रहनेछन् ।
यि भए कागजमा लेखिएका कुराहरु र हाम्रो इतिहस् तर के वास्तवमा बाल अधिकार, बाल अधिकार संम्बन्धि महासन्धि, बालमैत्री स्थानीय शासनको कुरा गरी रहदा हामीले चाहे जस्तै बालबालिकाको अवस्था छ ? यो ज्यादै संवेदनशिल र ठुलो प्रश्न हो यो प्रश्न हरेक नेपाली नागरिकले उठाउन आवश्यक छ । नेपाली बालबालिकाहरुलाइ यि कागजका कुराहरु बुझ्न कति आवश्य छ भन्ने कुरा गैण कुराहरु हुन् तर के साच्चिकै बालबालिकाहरुले अधिकार पाएका छन् त ? यहि प्रश्न हरेक समयमा उठ्नु पर्दछ ।
वर्तमान् समयमा हामीकहाँ तिन तहको सरकार छ , स्थानिय प्रदेश तथा संघिय सरकार यि सरकारहरु बालबालिकाको मुद्दामा संवेदनशील देखिदैनन् । सरकारले बर्षेनि करोडौँ रकम बालबालिकाको क्षेत्रमा खर्च गरिरहेको हुन्छ त्यसको नतिजा पनि शुन्य बराबर नै देखिन्छ । सरकारका कामहरु हेर्दा एकातिर आधि एकातिर झुलुङ्गो भने जस्तै छ । दुइ तिहाइ बहुमतको सरकारले पनि बालबालिकाको क्षेत्रमा कुनै पनि किसीमको प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम ल्याउन सकेको कुरा आम सामान्य नेपाली जनताले महशुस गर्न पाएनन्। अहिले दुइ महिना विति सक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने सरकारले बालबालकिाको सवालमा काम गर्छ भनेर कसरी विस्वास गर्न सकिन्छ र ।
बालबालिकाको नाममा कैयौँ अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले अरबौ रकम देशमा भित्राएका छन् तर त्यसको नतिजा हेर्दा हामी साच्चिकैको सन्तुष्ट हुन् सक्दैनौँ । हामीले अहिले एम.सी.सीको विरोध गरिरहेका छौँ यो भन्दा बढि खतरनाक हुन् सक्छन् अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु यस्ता कुराहरुमा हामी सचेत हुनु पर्दछ । फोटो बेचेर डलर पचाउने आइएनजिओहरु पनि छन् जसले हामी नेपालीको गरिबिको फोटो र दुख देखाएर डलरमा रजाइ गरिरहेका छन् ।
नत यस्ता संस्थाहरुको आर्थिक विवरण सार्वजनिक हुन्छ नत यिनिहरुले गर्ने कामहरुले दिर्घकालिन उपलब्धि दिन्छन् । यिनिहरुले हाम्रो वरपर काम त गर्छन तर के साच्चिकैको ति कामहरुले दिर्घकालिन अर्थ राख्दछ ठुलाठुला होटलहरुमा हुने कार्यक्रमहरुले के साच्चिकैको नतिजा दिएका छन् यस्ता खालका कुराहरु आम मानिसको मनसपटलमा खेल्ने कुरा हो । तर केहि आइएनजिओहरु भने राम्रो काम गरिरहेका छन् तिनिहरुलाइ भने हामीले फरक दृष्टिकोण बाट हेर्नु पर्दछ ।
यति लामो बाल अधिकारको इतिहास् बोकेको हाम्रो देशमा कहिल्यै पनि काम हुन् सकेन जहिल्यै कुरा मात्र भए चिल्ला र मिठा खालका भाषणहरु मात्र भए । यदि साच्चिकै हाम्रो तिन तहको सरकार बालबालिकामो कुरामा संवेदनशिल छ भने देशभरीका ७५३ वटै स्थानीय तह बालमैत्री घोषण गर्नुपर्दछ, बाल अधिकार र बालमैत्रीका कुराहरुलाइ व्यवहारमा उर्तान जरुरी छ र सामान्य परिवारमा गएर बालअधिकार र बाल दिवसको कुरा गर्दा सरकारले गरेको छ हामी खुशी छौ भन्ने कुरा सुन्न नपाइदा सम्म बाल दिवस मनाउन बन्द गरेपनि हुन्छ बाल दिवस मनाउन यसको कुनै औचित्य नै छैन् ।