नवलपुर ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सरगर्मी गाउँ गाउँ देखी केन्द्र सम्म छाएको छ । महाधिवेशनमा सभापतिको दाबेदारको रुपमा प्रस्तुत गरेर आफ्नो पक्षमा माहोल बनाउन दौड धुपमा लाग्नु भएका डा . शशांक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा आइपुग्दा पुन अर्को घोषणा गर्नुभयो । काङ्ग्रेस महामन्त्री समेत रहनुभएका डा शशांक कोइरालाले नवलपुरको दलदलेमा शनिवार भएको कार्यक्रममा बोल्दै आफू पुन : नवलपुरबाट संघीय निर्वाचनमा लड्ने बताउनुभयो । काङ्ग्रेस महामन्त्री कोइरालाले भन्नुभयो ‘ तपाईंहरूले गरेर तीन / तीन पटक निर्वाचन जिते , आँउदो निर्वाचनमा पनि जित्ने प्रयासमा हुन्छु , तपाईंहरुको साथ र सहयोग चाहिन्छ । ‘
२०६४ , २०७० र २०७४ को निर्वाचनमा जितेर आफ्नो ह्याट्रिक कार्यकाल पुरागर्ने चरणमा रहँदा आफू फेरी चौथो पटक समेत यसै निर्वाचन क्षेत्रबाट उठ्ने घोषणाले महामन्त्री कोइरालाले संघीय निर्वाचनको समेत माहोल बनाउन लागेको अड्कलबाजी गरिएको छ । झण्डै १५ वर्ष प्रतिनिधिका रुपमा पुरा गर्न लाग्नुभएका र कांग्रेसको शक्तिशाली नेताको रुपमा समेत रहनुभएका नेता कोइरालाको निर्वाचन क्षेत्रमा गरिएका काम भने खासै सम्झन योग्य नरहेको टिप्पणी आम सर्वसाधारणबाट बेला बेलामा सामाजिक सञ्जालहरूमा हुने गरेको छ ।
यतीमात्रै होइन उक्त निर्वाचन क्षेत्रमा कांग्रेसकै स्थानीय नेतृत्व स्थापित गराउनुपर्छ भन्ने आवज काङ्ग्रेस वृत्तमा नउठेका होइनन् । तर पुन : आगामी निर्वाचनमा समेत महामन्त्री आफुनै यस निर्वाचन क्षेत्रबाट लड्ने उद्घोष गरेसँगै यो सम्भावना अब टरेको देखिन्छ । यसले संघिय निर्वाचनमा उठ्ने मनसाय बनाएका जिल्ला स्थित नेताहरुको क्षेत्र नम्बर दुई तर्फ दौडधुप बढ्ने सम्मान समेत देखिएको छ ।
विगतमा निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा आउँदा केन्द्रका मात्रै कुरा गर्ने महामन्त्री कोइरालाले यसपटक भने आफ्ना निर्वाचन क्षेत्र केन्द्रित गरेर मतदाताहरूलाई खुसी पार्ने केही योजना सुनाउनुभयो । क्षेत्र नम्बर १ को आफू अभिभावक भएको भन्दै उहाँले केही योजनाको बेली बिस्तार लगाउनुभयो । महामन्त्री कोइरालाले सम्बोधनको क्रममा नारायणीमा वैकल्पिक मार्ग बनाउने गरि आफूले चित्र कोरेको बताउनुभयो । यसले पर्यटनको विकास हुने , बन्यजन्तु र बाढीबाट जोगिने महामन्त्री कोइरालाले बताउँदै गर्दा उहाँकै निर्वाचन क्षेत्रको बुलिङटार सहितका पहाडी क्षेत्रको भने झण्डै चार महिना देखी बजार क्षेत्रसँग यातायात सम्पर्क टुटेको छ ।
बुलिङटारको अर्खलामा पहिरोले अवरुद्ध सडक मुस्किलले पहाडी क्षेत्रमा ६ महिना सहज रुपमा यातायात सञ्चालन हुन्छ । बेला बेलामा आगन्तुक उम्मेदवार भन्ने आरोप खेप्ने गर्नुभएका महामन्त्री कोइरालाले त्यसलाई चिर्न नवलपुरलाई आफ्नो गृहस्थल रहेको समते बताउनु भयो ।
महामन्त्री कोइरालाले नेपाली कांग्रेसलाई कसैले हराउन नसक्ने बताउँदै कांग्रेसलाई हराउने काङ्ग्रेस भित्रकै तत्त्वहरू हुने बताउनुभयो । आँउदो निर्वाचन पछि नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने समेत उहाँले दावी गर्नुभयो ।