नवलपुर ।
पूर्वि नवलपरासीमा असार ३१ गतेदेखि साउन १५ गतेसम्म विभिन्न मितिमा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो डोज आगामी भाद्र महिनाको १ र २ तथा १० र ११ गते लगाईने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दुई चरणमा दोस्रो मात्रा उपलव्ध गराउने निर्णय गरेको हो । असार ३१ गतेदेखि साउन ८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुलाई भाद्र १ र २ गते दोस्रो डोज लगाईने र साउन ९ गतेदेखि पछि खोप लगाएकाहरुलाई भाद्र १० र ११ गते दोस्रो डोज लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालय नवलपरासी ९पूर्व०का प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो । ५५ वर्ष उमेर समूह माथिका नागरिक, स्वास्थ्यकर्मी, शिक्षक तथा ब्यवसायी गरि जिल्लामा ३५ हजार ६८ जनाले भेरोसेल खोप लगाएका थिए ।
गैँडाकोट नगरपालिकामा ९८०३, देवचुली नगरपालिकामा ५६५८, कावासोती नगरपालिकामा ८३३२, मध्यविन्दु नगरपालिकामा ४८९३, विनयीत्रिवेणी गाउँपालिकामा ३२०७, हुप्सेकोट गाउँपालिकामा १४०८, बौदीकाली गाउँपालिकामा ९८० र बुलिगंटार गाउँपालिकामा ७८७ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका आठ स्थानीय तहहरु मध्ये बौदीकाली र बुलिगंटार गाउँपालिकामा दोस्रो डोजको लागि खोप पठाइसकिएको कार्यालयले जनाएको छ ।
यसैविच नवलपुरमा गत माघ फागुन र चैतमा कोभिडसिल्ड खोप लगाएका बृद्धबृद्धाहरुका लागि दोस्रो डोज लगाउने तयारी भैरहेको बताइएको छ । जिल्लामा कोभिडसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकाहरुको संख्या १४ हजारको हाराहारीमा छ ।