भिम भुसाल, देवचुली ।
आगामी आर्थिक वर्ष २०७८-०७९ का लागी देवचुली नगरपालिकाले कुल ६२ करोड २७ लाख ७८ हजार बराबरको वार्षिक वजेट तथा कार्यक्रम पास गरेको छ । उपप्रमुख पार्वता तिवारीद्धारा प्रस्तुत बजेट तथा कार्यक्रममा उक्त रकम बरावरको बजेट तथा कार्यक्रम नगरपालिकाको आठौँ नगरसभामा पास भएको हो ।
नगरपालिकाको आगामी आर्थिक वर्षको लागि आय तर्फ संघिय सरकारको सशर्त अनुदान २७ करोड ९८ लाख, संघिय सरकारवाट वित्तिय समानीकरण अनुदान १४ करोड ४२ लाख, समपुरक अनुदान ६९ लाख, विशेष अनुदान ८३ लाख र राजस्व बाँडफाँड ९ करोड ११ लाख १२ हजा समावेश गरिएको छ । व्यय तर्फ चालु खर्च ३४ करोड ७३ लाख ७८ हजार ३ सय २० रुपैया (५५.७८) प्रतिशत र पुँजीगत तर्फ २७ करोड ५३ लाख ९९ हजार ८० (४४.२२) प्रतिशत विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ १२.८७, आर्थिक विकास तर्फ ५.४९, पुर्वाधार तर्फ ४१.७५, वन वातावरण तथा विपद तर्फ ६.४७ र संस्थागत तथा सुशासन तर्फ ३३.४२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
त्यस्तै गरि आगामि आर्थिक वर्षका लागि विपत ब्यवस्थापन कोषमा १ करोड ५० लाख, भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्थिति बसोवासीको लागि भुमि सम्बन्धी कार्य गर्न ५० लाख, १७ वटै वडाको लागि ७ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरि सामाजिक विकास कार्यक्रम अन्तर्गत महिला उद्यमशिलता विकास, जेष्ठ नागरिक, बालवालिका,एंव अपांगता भएका ब्यक्तिहरुको लागि २५ लाख,स्वास्थ्य, आयुर्वेद, शिक्षा, खानेपानी, कृषि, सिँचाई, खेलकुद, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगाएतका क्षेत्रमा नगरपालिकाले बजेट विनियोजन गरेको छ ।