खगेन्द्र पराजुली, नवलपुर ।
नवलपुरका सरकारी अस्पतालका प्रमुख एवं डाक्टरहरुले अधिकांश निजी क्लिनिकले नागरिकको स्वास्थ्यप्रति हेलचेक्राई गरेको पाईएको बताएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईद्वारा मंगलवार कावासोतीमा कोरोना संक्रमण नियन्त्रण–रोकथाममा अस्पतालले गरेका गतिविधि र समस्या चुनौतीका बिषय र उपचारमा अपनाउनुपर्ने थप योजनाका बारेमा बोलाईएको छलफलमा उनीहरुले यस्तो खुलासा गरेका हुन् ।
अहिले प्राय सबै पालिकास्तरका सरकारी अस्पतालमा कोभिड संक्रमितका लागि आईशोलेशन तयार गरिएको र ओपिडी सेवा बन्द गरेर फिवर क्लिनिक सञ्चालनमा ल्याउँदा सरकारी स्वास्थ्य संस्थामा बिरामी पुग्न डराउने खालको मनोबैज्ञानिक असर परेको छ । जसका कारण कोभिड लक्षण सहितका शंकास्पद बिरामीहरु समेत नजिकैका क्लिनिक र औषधी पसलमा पुगेर विना परिक्षण औषधि सेवन गर्ने गरेको डाक्टरहरुले बताएका हुन् ।
छलफलमा सहभागी मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेका अनुसार ज्वरो, रुघाखोकी, जस्ता कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीहरुका लागि कुनै परिक्षण नै नगरि टाईफाईडको औषधि दिने गरेको पाईएको छ ।
शुरुमा टाईफाईडको औषधि सेवन गर्ने, कम्तीमा एक हप्ता बिचार गर्ने त्यसपछि निको नभएपछि बल्ल कोरोना होकि भन्ने शंका लागेपछि मात्र अस्पताल आउँदा निकै ढिलो हुने गरेको उनको अनुभव छ । जिल्ला अस्पतालमा उपचाररत अधिकांश कोभिड संक्रमितको केश हिस्ट्रीमा यसअघि नै टाईफाईडको औषधि सेवन गरेको र निको नभएपछि अस्पताल आएको जनाएका छन् ।
यस्तै समस्या मध्यविन्दुको प्रस्तावित चोरमारा अस्पताल, हुप्सेकोटको देउराली आधारभूत अस्पताल, गैंडाकोटको पितौजी नगर अस्पतालका डाक्टरहरुले पनि बताएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका जोकोहीले सबैभन्दा पहिला पिसीआर परिक्षण गरेर मात्रै उपचारका बिधि अपनाउनुपर्नेमा सचेत रहनुपर्ने बताए ।
कोभिडका बिरामीले टाईफाईडको औषधि खाँदा स्वास्थ्यमा झन् प्रतिकुलता निम्तने भएकाले निजी क्लिनिक सञ्चालकले पनि शंकास्पद बिरामीलाई तुरुन्तै सरकारी अस्पतालमा वा पिसीआर परिक्षणका लागि सिफारिस गर्र्नुपर्नेमा ध्यान दिन आग्रह गरेका छन् ।