भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा रहेको पाठशाला मन्टेश्वरी बोडिङको विद्यार्थि बोक्ने गाडीले निशुल्क विरामी बोक्ने भएको छ । कोभिड संक्रमणको दोस्रो लहर चलेसँगै देवचुली नगर क्षेत्रभित्रका विरामीले एम्बुलेन्स अभावमा ज्यान गुमाउन नपारोस भन्ने हेतुले मन्टेश्वरीको गाडी एम्बुलेन्सको रुपमा निशुल्क प्रयोगमा आउने भएको हो । बोडिङका प्रिन्सिपल वेदराज सापकोटाले देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल र स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठलाई सवारी हस्तान्त्रण गर्दै एम्बुलेन्सको अभावमा विरामीले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले सवारी हस्तान्त्रण गरेको बताउनुभएको छ ।
विद्यार्थि बोक्ने सवारीले विद्यार्थिका अविभावक पनि बोक्नसक्नुपर्ने भन्दै नगरभित्रका सम्पुर्ण विद्यालयका सवारी समेत यो विपत्तिमा प्रयोगमा ल्याउनुपर्ने प्रिन्सिपल सापकोटाको तर्क छ ।
प्रिन्सिपल सापकोटाले हस्तान्त्रण गर्नुभएको सवारीमा आवश्यक पर्ने ईन्धन तथा अक्सिजन समाजसेवी ठाकुर पोखरेलले जिम्मा लिनुभएको छ । विभिन्न व्यक्तिहरुको सहयोगमा समाजसेवी पोखरेलले अक्सिजन सिलिन्डर, ईन्धन लगाएतको खर्च जिम्मा लिनुभएको हो ।
उक्त सवारीको चालकको रुपमा वडा नम्बर ५ का राम प्रसाद तिवारी र गोपाल तिवारीले निशुल्क सहयोग गर्नुभएको छ भने समन्वय देवचुली नगरपालिकाले गर्ने भएको छ ।