चितवन ।
चितवनमा राष्ट्रिय अनुसन्धानको प्रहरी उपरीक्षक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिप्रसाद पन्त नाम गरेका ती व्यक्ति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी घर भएका ४५ वर्षीय पन्त हुन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सरकारी वकिल कहाँ उपस्थित गराएको एसपी अधिकारीले जानकारी दिएका छन् ।
उनलाई खैरहनी नगरपालिका– ८ को एक होटलबाट पक्राउ गरिएको थियो । उनले आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए ।
अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन् । काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको पाइएको हो । पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले जानकारी दिए ।