नवलपुर ।
रवीन्द्र मिश्रले पत्रकार रवि लामिछानेलाई राजनीतिमा आउन आग्रह गरेका छन् । शुक्रबार र शनिबार गैँडाकोटको हर्कपुरमा भएको ‘फाइनप्रिन्ट फिभर’मा पूर्व पत्रकार, लेखक एवम् विवेकशील साझा पार्टीका संयोजक मिश्रले देशमा राजनीतिका लागि मात्रै राजनीति गर्नेहरुको संख्या बढ्दै गएकोले राजनीतिसँगै राजकाज गर्न पत्रकार लामिछानेलाई आग्रह गरेका हुन् ।
बीबीसी नेपाली सेवाबाटै लोकप्रियता कमाएका नेता मिश्रले देशमा इमानदार, क्षमतावान्, दूरदृष्टि राख्ने नेताको अभाव भएकै कारण आफू पनि राजनीतिमा आएको बताए ।
‘राजनीति गर्ने व्यक्तिमा इमानदार, क्षमता, दूरदृष्टिकोण, सामान्य सुझबुझ र विचारबिना परिवर्तन सम्भव छैन,’ उनले भने, ‘हामीले भोग्दै आएका पुराना दल र नेताहरुमा यी कुनै पनि एजेण्डा पाइँदैन । उहाँहरु खाली राजनीति र व्यक्तिगत स्वार्थको लागि मात्रै राजनीति गरिरहनुभएको छ ।’
कांग्रेस नेता गगन थापाले विश्व घुमेका उद्यमी तथा लेखक जीवा लामिछानेसँग संवाद गरेका थिए । संवादका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकारसमेत रहेका लामिछानेले दृढ ईच्छाशक्ति भएमा एउटै व्यक्तिको निर्णयले देश बदल्न सक्ने बताएका थिए ।
दुई दिनसम्म भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, कवि असीम सागर, गायक स्वरुप आचार्य, बलिउडकी नायिका मनीषा कोइराला, विद्यालक्ष्मी महर्जन, मुराहरि पराजुली, निरञ्जन कुँवरले आ-आफ्ना अनुभव आदान प्रदान गरेका थिए ।
‘रहर’ कथासंग्रहका लागि लेखक सुरेश बडाल, प्रकृति भट्टराई बस्नेत, लेखक राजीव उपाध्याय, प्रकाश रिमाललगायतले बोलेका थिए । दुई दिने कार्यक्रमले पाठक र लेखकलाई नजिक्याउने विश्वासका साथ घुम्ती महोत्सव आयोजना गरिएको आयोजक संस्था फाइन प्रिन्टका सञ्चालक अजित बरालले जानकारी दिए ।