चितवन ।
किर्ते गरी रकम अपचलनको कसुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत रिठ्ठे परियार रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिठ्ठे परियारलाई काठमाडौंबाट हिजो बुधवार पक्राउ गरेको हो ।
परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ । उनलाई काठमाडौं तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
सीआईबीकी प्रवक्ता गंगा पन्तले परियारविरुद्ध लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको खुल्न आएकाले पक्राउ गरिएको जानकारी दिएकी छिन् ।