नवलपरासी ।
नवलपरासी पश्चिम प्रहरीले दुई लाख ४६ हजार रूपैयाँबराबरको १० वटा खसी र ११६ वटा अवैध कुखुरा बरामद गरेको छ ।
विभिन्न स्थानबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको २ लाख ४६ हजार ४ सय मूल्यबराबरको १० वटा खसी र ११६ वटा जिउँदो ब्रोइलर कुखुरा बरामद गरेको हो । भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको १० वटा खसी प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले सरावल–७ मोजरहियाबाट बरामद गरेको थियो । खसी ल्याउने मानिस फरार रहेका छन् । बरामद खसी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ ।
त्यसैगरी भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको ११६ वटा (२३२ केजी) जिउँदो ब्रोइलर कुखुरा रामग्राम नगरपालिका–१० नौडीहवाबाट प्रहरी टोलीले बरामद गरेको हो । उक्त कुखुरा मोटरसाइकलमा राखी ल्याउँदै गर्दा प्रहरी टोलीले बरामद गरेको हो । मोटरसाइकल चालक कुखुरा फालेर भागेका थिए । कुखुरा आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन महेशपुर बुझाइएको छ ।