भरतपुर ।
नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएपछि दुर्घटनाको संख्यामा कमी आएको छ । साँघुरो र भत्किएको सडक हुँदा यहाँ दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७र७८ को छ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट चार जनाको मृत्यु र ४४ जना घाइते भए ।
सडक विस्तार सम्पन्न भएको वर्ष यस सडकमा दुर्घटना अत्यधिक भएको थियो । यस सडकमा आव ०७५र७६ मा ५५ वटा दुर्घटना भएको थियो, जसमा २८ जनाले ज्यान गुमाए । १८७ जना घाइते भए । त्यसपछि आव ०७६र७७ मा ५७ वटा दुर्घटना भयो । दुर्घटनाबाट २४ जनाको ज्यान गयो भने १४४ जना घाइते भए ।
सडक विस्तार हुनुअघि आव ०७३र७४ मा ३०२ दुर्घटना हुँदा १७० जनाको मृत्यु भएको थियो । ८९ जना घाइते भएका थिए । त्यसपछिको आव ०७४र७५ मा चार सयवटा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । सडक विस्तारका क्रममा नागरिकहरुले उस्तै सास्ती व्यहोर्नु परेको थियो ।
सडक विस्तारपछि नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा कमी आएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सडक बनेपछि दुर्घटना र मृत्यु कम भएको छ’, कोइरालाले बुधबार पत्रकार सम्मेलन गरी भने, ‘फराकिलो र राम्रो सडक भयो भने दुर्घटना कम हुने रहेछ भन्ने यो उदाहरण हो ।’
अहिले पूर्वी चितवनमा दुर्घटनाको दर बढेको उनले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको गोन्द्राङदेखि लोथरसम्मको सडक वैज्ञानिक नहुँदा अत्यधिक दुर्घटना बढेको उनको भनाइ छ । ‘वैज्ञानिक सडक छैन, साँघुरो छ । त्यसकारण पूर्वी चितवनमा अत्यधिक दुर्घटना हुन थालेको छ’, उनले भने, ‘दुर्घटनाबाट दैनिक एक÷दुई जनाको मृत्यु भइरहेको छ । हामीलाई टाउको दुखाइ बनिरहेको छ ।’ पूर्वी चितवनको राप्ती–५, भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको थियो ।