ज्ञानु पंगेनी, नवलपुर।
नवलपरासी पूर्व (नवलपुरको ) मध्यविन्दु नगरपालिकामा रहेको क्वालिटी पेपर उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्न माग गर्दै स्थानीयबासिन्दाले सोमबार उद्योग अगाडी विरोध प्रदर्शन गरेका छन् ।
सायौँको संख्यामा पुगेका स्थानीयले उद्योगको गेट अगाडी नारा लगाउदै उद्योगबाट निस्कने ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने , कालोपानी नियन्त्रण गर्नुपर्ने , वायु प्रदुषण नियन्त्रण गर्नुपर्ने , अहिलेसम्म खेतीयोग्य जमिनमा पुगेको क्षतीको क्षतीपुर्ती दिनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् । उनीहरुले एक घण्टासम्म प्रदर्शन गरेका थिए ।
मध्यविन्दु नगरपालिकाको ११ र १५ न. वडाको सिमानामा स्थापना भएको उद्योगले १५ न. वडाका जनता र वडासंग कुनै प्रकारको सम्पर्क र समन्वय नगरेको स्थानीय अगुवा वावुराम पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार १५ न. वडाको एक किलोमिटर आसपासको क्षेत्रफमा उद्योगबाट निस्कने कालो धुँवा र केमिकल सहितको पानीका कारण खेतीयोग्य जमिनमा लगाएको बालीनालीमा असर पारिरहेको , बालीनाली मर्ने , कालो हुने र जसमिनको उर्वराशक्तिमा ह्रास हुँदै गएको छ ।
रातदिन उद्योगबाट निकस्ने ध्वनी प्रदुषणले गर्दा आसपासका बासिन्दा आजित बनेको र कालो धुँवाको मुस्लोले घरबाहिर बस्नै नसक्ने अवस्था आएको स्थानीय तिलकराम देवकोटाले गुनासो गर्नुभयो । बाहिर राखिएको सामाग्री , लत्ताकपडा सबैमा कालो धुलोले छोप्ने र धुँदा पनि नजाने समस्याले हैरान भएको देवकोटाले बताउनुभयो ।
यस अघि पनि उद्योगलाई प्रदुषण नियन्त्रण गर्न माग गरेको भए पनि वेवास्ता गर्दै आएकाले प्रदर्शन गर्न बाध्य भएको उहाँले बताउनुभयो । अब पनि आफुहरुको माग सुनुवाई नभए चरबद्ध आन्दोलन गर्ने उहाँले बताउनुभयो ।
उद्योगले वातावरणमा असर पारेपछि सोमबार नै वडा सदस्य दुर्गा बि.क. सहित स्थानीयको सहभागितामा वातावरण संरक्षण गर्न १३ जना सम्मिलित समन्वय समिती निर्माण गर्ने निर्णय समेत गरिएको छ ।