कावासोती ।
पुर्बी नवलपरासी व्यवसायिक,जनघनत्वका हिसाबले मात्र समृद्ध छैन, संस्कृति, कला र सम्पदाका हिसाबले पनि सम्पन्न छ । कला र संस्कृतिको धनी क्षेत्र मानिने नेपालकै मध्य भागमा रहेको नवलपुर विभिन्न जिल्लाबाट बसाई सरेर आउनेहरुको बाहुल्यता भएका कारण पनि नेपाली कला र संस्कृतिले समृद्ध रहेको छ ।
बसाई सरेर आएको वषौं बितेपनि नवलपुरका स्थानीयले लोक कला, लोक भाका र लोक संस्कृतिलाई जीवन्त राखि नै रहेका छन् । समय फेरिँदै जाँदा लोक भाकाका शब्दहरु अवश्य फेरिएका छन् तर लय र संगीत फेरिएको छैन । हरेक वर्ष तीज नवलपुरका लागि मौलिक कला र संस्कृति प्रदर्शन गर्ने सुन्दर अवसर बनेर आउने गर्दथ्यो । प्रत्येक टोल टोलमा तीज आउनु अघिनै मादलका आवाजहरू घन्किन्थे।
नवलपुरका विभिन्न संचार गृह , संघ संस्थाहरूको तिज कार्यक्रम गर्न तछाड मछाड नै हुन्थ्यो । तीजको अवसरमा नवलपुरका मुख्य बजारहरूमा नाच र गानले धपक्क बोलेको हुन्थ्यो ।
तीजमा नवलपुरका जुन टोल, जुन गल्ली, जुन चौकमा गए पनि मादल घन्कन्थ्यो । रङ्गिविरङ्गी फरियामा सजिएका नेपाली नारीहरु वर्षौदेखि मनमा गुम्सेका भाका समुह बनाएर गुन्जाउँथे ।
तर यस पटकको तीज विगतका वर्षमा जस्तो हुन सकेन । विश्वभर माहामारीको रुप फैलिएको कोरोनाका कारण नवलपुरका मुख्य बजारहरू कावासोती , प्रगतिनगर , गैडाकोट, डन्डा अरूणखोला , दुम्किबास ,रजहर लगाएतका बजारहरू सुनसाननै बने न त मादल घन्के, नत चेलीबेटीको आवाज नै गुन्जियो ।
सबै राजनितिक दल संघ संस्था , संचार गृहको केन्द्र बनेको नवलपुरकै कावासोतीको खुला चौर यसपाली तिजको अवसरमा सुनसान नै बन्यो । ठुला ठुला स्पिकर राखेर ख्याति प्राप्त कलाकारको उपस्थितिमा हरेक बर्ष संचार गृहले कार्यक्रम गर्दै आईरहेका थिए तर यसपाली कावासोती खुल्ला चौर एक्लिएको छ । विभिन्न दल, संघ संस्था र संचार गृहको पहिलो रोजाई पर्ने खुल्ला चौर ६ महिना देखि सुनसान छ । संचार गृह र संचारकर्मीलाई पनि यस बर्षको तिज खल्लो लागेको छ ।
कोरना माहामारीका कारण गत ६ महिना देखि खुल्ला चौरमा कार्यक्रम हुन सकेको छैन । नेपाल प्रहरीको स्वामित्वमा रहको खुल्ला चौरमा कार्यक्रम गर्नेको सधै भिडभाड हुने गर्थो तर अहिले कुनै कार्यक्रम हुन सकेको छैन । नवलपुरका विभिन्न कला र संस्कृती को प्रर्दशन गर्ने स्थान बनेको खुल्ला चौर यसपालीको तिजमा शान्त नै देखियो ।बर्षौ पछि पहिलो पटक खुल्ला चौर शान्त बनेको छ । मानिसको बढि आवाज जावत हुने भएकाले पनि खुल्ला चौर सबैको केन्द्र बन्ने गरेको थियो ।
खुल्ला चौर कावासोती बासी को केन्द्र मात्रै थिएन । एउटा दुख बिसाउने चौतारी पनि थियो ।समय समयमा हुने सांस्कृतिक कार्यक्रमले कावासोती बासी लाई मनोरन्जन प्रदान गर्दै पनि आएको थियो । तर ६ महिना देखि खुल्ला चौर बाट हुने मनोेरन्जन कावासोती बासीले लिन पाएका छैनन ।
खुल्ला चौरले मनोरन्जन मात्रै होईन ब्यवसाहिक क्षेत्रमा पनि सहयोग पुर्याउदै आएको छ । चौरमा हुने भिड भाडले कावासोतीमा रहेका केही ब्यवसायलाई पनि फाईदा पुर्याउदै आएको थियो तर त्यो पनि हाल बन्द छ ।
खुल्ला चौर जहाँ तीजका दिन महिलाहरुको मेला जस्तै लाग्दथ्यो । बाटाभरी आइसक्रिम, बरफ र विभिन्न परिकारहरु किनेर खाँदै सडकमा रमाईलो हेर्न हिँड्ने वरी परीका होटल रेस्टुरेन्ट मा खाने को भिडभाड र भिडले ट्राफिक ब्यवस्थापन नै अस्तव्यस्त बन्ने गर्दथ्यो । तर यसपटक ती बिगतका वर्षहरुको रौनक सबै कोरोना कै कारण हुन सकेन सडकमा निस्केर साथीसङ्गीहरुसँग हात समातेर बजार घुम्ने रहर बोकेका कावासोतीका किशोर किशोरीहरु कोरनाका कारण घर मै बस्न बाध्य बने ।
जहाँ विगत वर्षहरुमा कावासोतीका हजारौबासीहरू तिज हेर्न खुल्ला चौर निस्कन्थे । किनकी पहिल्लो रोजाई नै खुल्ला चौर बन्ने गर्थ्यो । कस्को नाच कति राम्रो भनेर हेर्नेहरुको भीड पनि उत्तिकै हुन्थ्यो तर यस वर्ष कावासोतीको रौनक पनि कोरोनाले निल्यो । हाम्रो कला संस्कृति र मौलिकतामाथि कोरोनाले धावा बोल्यो । कोरोनाको कै कारणले कला र संस्कृति मन भित्रै लुकाएर बस्न स्थानिय बासी बाध्य भए । खुल्ला चौरमा देखीने तमक झमक यस पालि बन्द कोठा भित्रै सिमित हुन पुग्यो।
पछिल्लो समय तीजको मौलिकता हराउदै गएपनि कावासोतीको खुल्ला चौरले मौलिकता प्रदान गर्दै आएको थियो । तर ती सबै मौलिकता यस वर्ष कोरोनाकै कारण रोकिएपछि तीजकै दिनमा भए पनि नेपाली परम्परा र संस्कति हेरेर सिक्न चाहने नयाँ पुस्तालाई त्यो अवसरबाट समेत वन्चित बनाएको छ ।
आशा गरौ कोरनाको असर सगै शान्त बनेको खुल्ला चौर कोरनाको अन्त्य सगै फेरि ब्युझिनेछ ।