नवलपुर ।
सबैरै दूध डायरीमा दुध लिन पुगेको थिएँ, पसल भर्खर पुग्दै गरेको एक जनाको आवाज सुनेँ – ” लकडाउन खुकुलो त भो तर हेर्नुहोला अब देश भारत, इटाली, स्पेन र अमेरिका जस्तै हुने पक्का छ” । दुध लिएर फर्किदा बाटोमा मनमा कुरा खेलिरह्यो र त्यही आवज गुन्जीइरह्यो – ‘लक डाउन खुकुलो त भो तर हेर्नुहोला …!’ दूध लिएर घरको गेट खोल्दै थिएँ छिमेकी आमा बोल्नु भो पारिबाट – ” कता गएर आयौ बाबू बिहानै, धेरै नहिड है समय अनुकुल छैन । लक डाउन खुकुलो हुने कुरा छ रे ! पहिला खुकुलो बनाउने बेलामा कडा गरे अब कडा गर्ने बेला मनलाग्दी छ हेर्दै जाऊ अब के के हुन्छ ..!” हवस आमा भन्दै घरभित्र पसेँ । टेलिभिजनमा वर्तमानको बहस चल्दै थियो – ‘अब त हेर्नुस् लकडाउन त नाम मात्रैको बाँकी छ । अब हामी कोहि सुरक्षित छैनौं । अब पालो पर्खेर बसे हुन्छ डोजरमा उठाइनका लागि !” भित्रै देखि डर लागेर आयो अनि त्यहीँ वाक्यांशले मनमा ढ्याङ्रो ठोकीरह्यो । यत्तिमा कहाँ रोकियो र कथा, खाना खाएर आंशिक खुलेको अफिसतिर हिड्दै थिएँ । बाटोमा बजार खुल्दै थिए, कोहिले पसल खोली सकेका थिए तर पसल बाहिर डोरी टाँगेर पसल धनीहरु बाटो छेउ गफ चुट्दै थिए -” लक डाउन त खुले जस्तो छ तर के गर्नु – भूतले खाजा खाने बेलामा पर्यो कि झैँ लागिरहेछ ।” अफिस पुग्नै आँटेको थिएँ, गुड मर्निङ संगै साथीहरुको भाव पनि उस्तै थियो – ‘लक डाउन खुकुलो त भो साथीहरू तर हेर्नुहोला … हाम्रा दिनगन्ती शुरु भए कि झैं लाग्छ ! पशुपतिनाथको भरोसा भो अब ।’त्यहिबेला एउटा संगीतप्रेमी साथीको फोन आयो । भन्यो – मैले बर्तमान बोलेको एउटा भजन लेखेको छु सुनेर प्रतिकृया दे ल ! सुनाइ हाल्यो –
हेर लकडाउन खुलेको
सरकार के मा भुलेको
मन नलाई के जाने हो
कोरोनाले लाने भो
रक्षा गर हे प्रभु !
माथि उल्लेखित अभिव्यक्ति र घटनाक्रमले एउटै चित्र बोल्दै थियो – लक डाउन कडा हुने पर्ने समयमा खुकुलो भयो वा अब मान्छेहरूले खतरा मोलेरै पनि चाहेर नचाहेर आफ्नो ब्यवसाय र काममा फर्किन थाले वा त्यसो गर्न वाध्य छन् । संगै यसले सरकारको कोरोना रोकथाममा कमजोर तयारी, दृढ संकल्पको अभाव र कमजोर पहलकदमीको झल्को पनि दिन्थ्यो । यि यावत कुरा आइ रहदा एउटा गहन प्रश्न खडा हुन्छ – के अब हामी साच्चै बरबादी तर्फ नै जादै छौं त ? कोरोना (कोभिड १९) केही लाखका निम्ति सुपारी बोकेर नेपाल डुल्दै छ त ? एउटै शब्दमा यी प्रश्नको उत्तर ‘ठिक’ वा ‘बेठिक’ भन्ने रहेन । एक हप्ता यताको संक्रमण र मृत्युको अवस्था हेर्दा सम्भावना भने बलियो देखिन्छ । र लाग्छ हामी पटक पटक चुक्यौं । यदि हामी चुकेकै हौं तर सुध्रिएनौँ भने त्यो निकट भबिस्य मै अभिशाप साबित हुनेछ । यसकै सेरोफेरोमा दौडने जमर्को हो यो लेख ।
कहाँ चुक्यौँ हामी ?
लकडाउन घोसणा त गरियो तर घोसणा गर्नु अघि कोरोना देखिइसकेका देशहरूबाट निर्वाध जस्तो नेपाली र सुरक्षित ठानेर चाइनिज लगायत बिदेशीहरुलाई पनि थर्मल गन तेसारेर सेल्फी हान्दै स्वागत गर्यौँ हामीले । हामीलाई लाग्यो, हामीलाई त हिमालले छेकेको छ, हाम्रो स्टामिना (रोग संग लड्ने क्षमता अदभूत छ)। तर हामीले हिमाल माथी उडेका जहाजले कोरोना बोकि राखेको कुरालाई ब्यवस्था गर्यौँ , संसार भरका मान्छेलाइ एक छोप बनाउदै गरेको कोरोनाका अगाडि हामे केहि हैनौँ भन्ने कुरा बिर्सियौँ । अर्कोतर्फ सबैभन्दा धेरै नेपालीहरुले कर्मक्षेत्र बनाएको भारतमा बढ्दै गरेको कोरोनाले कालान्तरमा पार्ने प्रभाव अध्ययन गर्न चुकियो । फलतः मन्त्री परिषदले गरेको नयाँ नक्सा पास संगै हाम्रो घनिष्ट मितेरी छिमेकीले सबै नेपालीलाई रेल चढाउने निति जुन लियो त्यो नै नेपाल र नेपालीका लागि खतराको घन्टी भयो । कम्तीमा शुरु मै वुहान बाट ल्याइएका नेपालीहरुलाइ जस्तै भारत तथा अन्य मुलुक बाट नेपाल फर्किन चाहनेहरु लाई दुई हप्ते मात्रै भए नि पि सि आर टेस्ट गरेर क्वारेन्टाइनमा राख्ने पहल भएको भए आज अब हाम्रो पालो आयो भन्नू पर्ने अवस्था पक्कै आउने थिएन ।
बिस्वभर कोरोना फैलिदै गए पछि नेपालमा पनि पूर्व तयारी स्वरूप विज्ञको समूह गठन, पिसीआर गर्न सक्ने ल्याबहरुको अध्ययन, ल्याबका मेशिन, केमिकल र अन्य आवश्यक सामग्रीहरुको उपलब्धता लेखा जोखा, संसार भरी भै राखेका ल्याब विधीको अध्ययन, बिश्व बिध्यालय, सरकारी, निजि तथा अन्य सस्थाहरुमा कार्यरत/अध्ययनरत जनशक्तिको खोजी, क्वारेन्टाइन स्थलहरुको खोजी जुन रूपमा हुन सक्थ्यो र हुनुपर्थ्यो त्यो देखिएन । यति सम्म कि अरु सामान्य रोग लाग्दा सेवा ग्राहीको ढाड सेक्ने निजि अस्पताल लाई कुनै जिम्वेवारी दिइएन वा उनिहरु आफैंले पनि त्यो जोखिम मोल्न चाहेनन। विश्व विध्यालयका संबन्धित विभागका प्रोफेसर, अध्ययनरत/सोधकर्ता विध्यार्थीहरु दर्शक र सामान्य नागरिक सरह अलमलमै बसिराखे । यहाँ नीर पनि चुक्यौँ हामी ।
अस्ति भर्खर दैलेख तिरबाट एउटा समचार आयो – ” आर डी टी परिक्षण गरेर घर पठाइएका झन्डै एक सयको नतिजा पोजेटिभ आएपछी समग्र गाउँ नै संक्रमणको जोखिममा ” । माइतीघर मन्डलामा आरडीटी रोकि पिसिआर टेस्ट लाई ब्यापक बनाउनु पर्यो भन्नेहरु लाई मेलम्ची काठमाडौ आएको झल्को मेटिने गरि पानीको फोहोराले हानेको पनि देखियो । अचम्म त यो छ कि आर डी टी हामीलाई झुक्याइ रह्यो र पनि हामीले यसको पूरा विधि अध्ययन गरेनौं वा जिम्मेवारी बाट पन्छिन र मेडियाहरुको नजरमा बँच्न मात्रै टेस्ट गरि राखेका छौं भनी राख्यौं । अथवा माथी बाटै जबर्जस्ति लादिएको आर डी टी परिक्षणमै जोड दियौं । सर्बमान्य मान्यता नपाइ सकेको आर डी टी कीट हाम्रो वाध्यता हो, रहर हो वा खरिद वा नतिजा आउने समयका हिसाबले माथी देखिको खेलो हो बिस्तारै खुल्दै जाला तर हामी यसमा पनि मज्जाले चुकेकै हो ।
एउटा साथीले दुई दिन अघि फोन गफमा मलाइ सटाएर हान्यो – हैन हो डा साप, डाक्टरहरु के भा का हुन नेपालमा? कोहि विधुतिय गाडीमा कर थोपर्ने , मलमा कर बढाउने ! कोहि थर्ड र फोर्थको प्रतिस्पर्धामा कोहि के कोहि के ! अरु एक दुई डाक्टरको उदाहरण दिएर मलाइ हानिएको सटाएर सुन्दा जति रमाइला थिए तर त्यो भन्दा बढी बिचारणिय पनि ! देशको मुल नीति बनाउने, राजनिति गर्नेहरुमा बिचलन आयो भने र तिनीहरुले कुन समयमा कुन निर्णय गर्दा वा क्षणिक लाभमा फस्दा कालान्तरमा जनता लाई वा देशलाइ कत्ति असर गर्छ भन्ने भेउ पाएनन वा वेवास्ता गरे भने कस्तो दुर्घटना निम्तिन्छ भन्ने विषय निकै चिन्ताको बिसय हो । किन कि अहिले लक्डाउन खुकुलो हुनुमा माननिय अर्थ मन्त्रीको कर तिर्ने मिति तोकिनु पनि हो भलै त्यो हप्ता दस दिन उता सरेको किन नहोस । यहीँ नीर चुक्यो सरकार लक्डाउन मुद्दामा !
अब के गर्ने ?
पहिलो कदम भनेको भारत र अन्य देशबाट स्वदेश फर्किन चाहनेहरुको तत् तत् देशका दुताबासको सहयोगमा तथ्यांक संकलन गर्ने र जती सक्यो चाँडो देश भित्राउने, बर्गिकरण गरेर क्वेरन्टाइनमा ब्यवस्थापन गर्ने । यसो गर्दा संक्रमित र लक्षण देखिएकालाई एउटा समूहमा र अन्यलाई अर्को समुहमा राख्न सकिन्छ । झट्ट हेर्दा खर्चिलो र असम्भव जस्तो यो कार्य नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्थ्यो र अब पनि हुनुपर्छ । शुरुमै यति नगरेको भएर नै आज यो भयाभव तिर धकलिएका हौँ हामी!
स्वास्थ्य मन्त्रीले भर्खर भर्खर एउटा फोरममा निरिहका साथ बोल्नु भो – हामी ठूलो सन्ख्यामा पिसिआर गर्न सक्ने अवस्थामा छैनौँ । यो सार्है दयनिय र निरिहताको अवस्था हो यो । समग्र देशको स्वास्थ्य क्षेत्र सम्हालेको जिम्मेवार ब्यक्तीको यो भनाइबाट पुस्टी हुन्छ देशको (उहाँको) तयारी र निकट भबिस्यमा हामीले भोग्दै गरेको महामारी प्रतिको उत्तरदायित्व । जे गर्नुपर्ने हो त्यो गर्न सकिने अवस्था छैन जे अहिले नगरेर पछी गरे नि आकाश खस्दैन त्यसमा मरिहत्ते छ सरकार र सरकारमा रमाइरहेकाहरुको । दैनिक दशौं हजार पिसिआर गरिनु पर्ने अहिले बाट हैन शुरु बाटै हो तर यो भाका असार मध्यतिर सर्दैछ जतीबेला हाम्रो मृत्युको ग्राफ हामीले सोछे भन्दा धेरै माथि पुगिसक्ने छ ।
यो बिचमा सुनिदैछ छिट्टै छोटो र लामो दुरीका पनि सवारी साधन संचालनमा आउँदैछन, पसल बजार अरु खोलिदैछ । सम्भवत यसका पछाडी सरकारले जारी गरेको कर तिर्ने मिती पनि जिम्वेवार छ । लाग्छ, हामीले कल्पना नगरेको अहिले बिकराल अवस्था भोग्दै गरेका देशहरुको जस्तो अवस्था आउँदैछ । बैंकको सावा ब्याज तिर्ने भाका एक दुई महिना पर सार्दिदैमा ठूलो क्षति हुँदैनथ्यो शायद जति अब कोरोनाले निकट भबिस्यमा पुराउदैछ । अर्बौ-खर्बौ नाफामा रहेका बैंकलाई च्यापी हाल्नु पर्ने र रात गए अग्राख पलाउछ भने जसरी कर उठाइहाल्नु पर्ने हतारो मानसिकता हो जस्तो लाग्छ । यि कुरामा जनतालाई सम्बोधन भएको भए र एक डेड महिनामा अधिकांस नेपालीको पिसिआर टेस्ट हुन्छ भन्ने ठोस प्रतिबद्दता आएको भए सम्भवत नेपाली जनताले आधी पेट खाएरै पनि अरु एक डेढ महिना लक डाउनको मुकाविला गर्ने थिए होलान तर जनता भोकमरी सहन नसकेर आत्महत्या गर्न थाल्दा, जागिर गुमाएर शरीरमा आगो लगाउदा अनी एक दिन बिराएर छाक टार्दै गर्दा पनि सरकार भने कोरोना कन्ट्रोलमा कमजोर देखिदै ठोस पहल कदमीमा पटक पटक चुकी रह्यो । तसर्थ, रातो, पहेलो र हरियो क्षेत्र निर्धारणको काम यथासक्य चाडो कार्यन्वयन गरेर साना ठुला ब्यवसाय गर्ने हरुलाई किस्ता तिर्ने र दुई छाक जोड्ने ब्यवस्था गर्ने बातावरण बनाउनु नै अबको पहिलो प्राथमिकता हो ।
नेपाली जनताको सादर अनुरोध छ , हजारौ जनतालाई कोरोनाले सोत्तर बनायो भने (ती मध्येमा तपाईं हामी पनि पर्न सक्छौं) हामीले बिकास निर्माणका ठूला आयोजना एक बर्ष अघी नै सके पनि हाम्रो जयजकार हुनेछैन । अनन्त सम्म हामी कालो सुचीमै रहने छौँ जनताको मनमा । तसर्थ हरेक क्षेत्र र तप्काबाट गम्भिर भएर यो लडाईं लाई पार लाउनु नै सिंगो राष्ट्रको दायित्व हो! पदमा हुनेहरु, ओहोदामा बस्नेहरु अरु जिम्मेवार बन्नुहोस् । अरु कती अर्ब खर्ब चाहिने हो छुट्टाउनुस् । चाइना भारतबाट मात्रै हैन संसार भरीबाट जनशक्ती र स्वास्थ्य सामाग्री मगाउनुस् हामी जस्तै अली अली ल्याबको काम जानेकाहरु लाई सम्बोधन गर्नुहोस्, देश भित्रै पनि विश्व विद्यालयका प्राध्यापक र सोधकर्ताहरुलाई भरपूर प्रयोग गर्नुहोस्, तर बिन्ती छ मै हुँँ भन्ने शक्ती शाली राष्ट्रमा समेत लाखौं बढीको ज्यान लिइसकेको कोरोना लाई शुरुमा चमेरो खानेले जस्तो हल्का मजाक नसम्झियोस ! लगन पछिको पोते र …..पनी सके दैलो पनि देखेँ भन्ने उखान चरिथार्थ नहून जुन चाडै हुने सम्भावना छ ।
लकडाउन खुकुलो हुनु, रोगको संक्रमण बढ्दै जानुमा च्यापुमा मास्क झुन्डाएर गाउँ गाउँ डुल्ने हामी जस्ता बुज्रुकहरुको लापारवाहीको पनि ठुलै भूमिका छ वा हुनेछ जुन कुरालाई अर्को छुट्टै लेखमा सप्रसँग व्याख्या गरौँला! बिशेष काम नपरी लखर लखर गाउँ डुलेर कोरोना घरसम्मै निम्तो नगरौं । आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं ।
अन्तमा, यो बिचमा कोरोना सुरु भएदेखी अहोरात्र परिवार पनि नभनी आफ्नै स्वास्थ्य जोखिममा हालेर खटिने स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र सम्बन्धित कर्माचारी हरु प्रति सलाम ! जसरी नयाँ नक्सा पारितका लागि राष्ट्रियताका सवालमा संबिधान सभा हलमा सबैको एक मत देखियो यसैगरि गुमेको भूमी फिर्ता ल्याउन र कोरोना भाईरसका बिरुद्द लड्न पनि सिंगो देश एक भएको देख्न र अनुभुत गर्न पाइयोस । जदौ !
डा. मित्र पाठक “काँचुली”
देवचुली न. पा.- ७, नवलपुर