भिम भुसाल, देवचुली ।
नेपालकै दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री घोषणा भएको देवचुली नगरपालिकामा बालविवाह अझैँ रोकिएको छैन । जसले गर्दा बिवाहित बालिकाले ज्यान गुमाउनु परेको छ ।
गत फाल्गुन महिनामा देवचुली नगरपालिका वडा नम्बर ९ का १७ वर्षिय बालक र देवचुली १६ कि १४ वर्षिय बालिकाबिच भागी विवाह भएको थियो । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी १४ वर्षिय बालिकाले गर्भवती भै शिशुको जम्म दिईन् । एक महिना अघि सुत्केरी भएकी बालिकाको गए राति चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको देवचुली नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष मेख बहादुर सारु मगरले बताउनुभयो ।
कक्षा ९ मा पढ्दै गरेका थारु समुदायका बालक र कक्षा ८ मा पढ्दै गरेकी मगर समुदायकी बालिका बिच प्रेमसम्बन्ध थियो । प्रेम सम्बन्धमै रहदा बालिका गर्भवती भईन् । गर्भवती बालिकालाई विवाह गरि बालकले घर लिएर आए । बालिकाले एक महिना अघि एक शिशुको जन्म दिईन् । शिशु जन्माएपश्चात सुत्केरी बालिकाको शरिरबाट रत्तस्राव हुन शुरु भयो अन्ततः सुत्केरी भएको एक महिनामा बालिकाले रक्तस्राब कै कारण ज्यान गुमाउनुपर्यो ।
गत एक वर्षको तथ्याङ्क हेर्ने हो भने सरदरमा देवचुली नगरपालिकामा मात्रै १० जोडी बालवालिकाको बालविवाह भएको बालपरामर्शदाता खिमानन्द भुसालले बताउनुभयो । गत बर्ष मात्रै वालविवाह हुन लागेका २ विवाह भने जनप्रतिनिधी, बालमैत्री अभियानकर्ता तथा विभिन्न संघसंस्थाको सहयोगमा रोकिएको थियो ।
देवचुली नगरपालिका बालमैत्री घोषणा हुनु अघि ११% बालविवाह हुने गरेको तथ्याङ्क रहेता पनि सर्तकता र जागरणकै कारण अहिले २.३७% मात्रै वालविवाह हुने गरेको बालपरामर्शदाता भुसालले बताउनुभयो ।
पावर संदेशसँग कुरा गर्दै भुसालले भन्नुभयो, ‘धेरै हदसम्म बालविवाह नियन्त्रण गरिएकोले नेपाल सरकारको निति अनुरुप बालमैत्री घोषणा गरिएको र केहि छुटफुट मात्रामा हुने गरेका बालविवाह नियन्त्रणमा सम्पुर्ण निकायले सकृयताका साथ काम गरिरहेको छ ।’
देवचुली नगरपालिकाको विपन्न समुदायमा देखिदै आएको बालविवाह नियन्त्रण गर्न यौन तथा प्रजनन् सचेतना सम्बन्धी क्याम्पेन शुरु गनुपर्ने बालमैत्री अभियानकर्ता दिपक शर्माले बताउनुभयो । सरकारले २० वर्ष उमेर समुह मुनिका बालवालिकालाई विवाह गर्न पूर्ण बन्देज गरेकोले बालवालिका स्वयंम सचेत हुन र मृत्युको मुखबाट बच्न समेत शर्माले बालवालिकालाई आग्रह गर्नुभयो ।
देवचुली नगरपालिका २०७५ साल भदौ २९ गते नेपालकै दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिकाको रुपमा घोषणा भएको हो ।