सपना पौडेल, देवचुली ।
हामी महिला आफ्नो जीवनमा एउटा न एउटा समस्यासँगै अगाडी बढ्नुपर्ने रहेछ , त्यस्तैमा सुरुमा समस्या लागेको र पछि यसको महत्वको बारेमा थाहा भएको रजस्वाला हुँदाको मेरो पहिलो अनुभव आज लेख्ने प्रयास गरेको छु । सृष्टिको जन्मदातृको रुपमा महिलाहरु रहेको र त्यही संरचनमा हुने रजस्वालाको विषयमा भने अचम्मको कुराहरु मात्र रहने र त्यो पनि महिलाहरुमा हुने रहेछ । म आफुलाई रजस्वालाको बारेमा खासै थाहा नै थिएन, घरमा हुनुभएका आमाहरु, दिदिहरु चाँही पर सरेको, छुन नहुने भन्ने त सुनेका थिए, तर के हो ? कसरी हुन्छ भन्ने बारेमा हाम्रो समाजको संरचनाको कारण न त मैले नै कसैलाई सोध्न सके न त कसैले मलाई भन्न नै खोज्यो त्यसकारण पनि म यो कुरा कसैलाई पनि सोध्न भने सकेको थिईन ।
बालापनको स्वभाव न हो नयाँ कुरा जान्न खोज्ने, सिक्ने खोज्ने त्यही भएर नै म आफु पनि यसको बारेमा जान्न मन लागेको थियो । एक दिन हिम्मत गरेर ममीको छेउमा गएर ममीलाई सोधे : ममी यो रजस्वाला भनेको के हो ? किन हजुर र दिदिहरु महिनामा एकपटक हामी भन्दा टाढा छुटै वस्नुहुन्छ भनेर सोधेँ ? मेरो ममिले गाली नगरीकन हासेर जवाफ दिनुभयो, महिलाको लागि रजस्वाला भनेका गर्वको कुरा हो, यो भयो भने हामी भविष्यमा गएर यो सृष्टिकर्ताको रुपमा अगाडी बढ्छौ, हामी आमा बन्न सक्दछौ र यो प्राकृतिक नियम हो, अव तिमि पनि यो उमेरमा प्रबेश गर्दैछौ, तिमिलाई पनि त्यस्तो भयो भने नडराई मलाई आएर भन्नु है भन्नुभयो, अनी मैले पनि हुन्छ भनी यो कुरामा ध्यान दिन थाले ।
यो रजस्वाला सामान्यतया १२ वर्षको उमेर समुहबाट हुने गर्दो रहेछ । म त्यतीबेला कक्षा ६ मा अध्ययनरत थिए, मैले मेरा साथिहरुलाई समेत रजस्वालाको बारेमा भन्ने गरेको थिए । एक रात म घरमा वसी सवै परिवारसँग वसेर टेलिभिजन हेर्दै थिए, मलाई अकस्मात गाह्रो भयो र एकदम सन्चो नहोला जस्तो भएको थियो, तर मैले घरमा उक्त कुराहरु भन्न सकेकी थिईन । तर पछी खाना खाएर टेलिभिजन कोठामा आँउदा मैले लगाएको सुुरुवालमा रगत लागेको देखे र म कसैले थाहा नपाउने गरी बाहीर गए, त्यतीबेला एकदम डर समेत लाग्यो किनकी मलाई केही भयो की भनेर रुन पनि आयो र एक्लै वसेर रुन थाले । पछि ममीलाई बोलाएर मैले देखाएर भनेँ । उहाँले मलाई सम्झाएर अव तिमी पनि रजस्वाला हुन थालेउ, यो प्राकृतिक कुरा हो, तिमिले केही गल्ती गरेको होईन भनेपछी म अली ढुक्क भए । अनी ममीले मलाई त्यहाँबाट अर्को कोठामा लिएर जानुभयो र त्यहाँ नै राखेर तिमि बाहीर ननिस्क भन्नुभयो । अनी पछी थाहा भयो, म त्यो कोठामा ५ दिनसम्म एक्लै बस्नुपर्ने रे, बाहीर आउन नपाउने अनी विद्यालय पनि जान नपाउने भएपछी मलाई एकदम रुन समेत मन लाग्दथ्यो । मैले त्यतीबेला नै सोच्दथे, यदी यो महिलाको लागि महत्वपुर्ण हो भने कीन त हामीलाई बाहीर निस्कन नहुने, छोईन्छ भन्ने यस्तो सोच्दा बेला बेलामा म एक्लै नै रुने गर्दथे तर म विवश थिए हाम्रो समाजको संरचना र रीतिरिवाजले गर्दा म ५ दिनसम्म घरबाहीर ननिस्कीन एक्लै कोठामा मात्र वसे ।
५ दिन सम्म स्कुल नजादा साथीहरुले के सोचे होलान, शिक्षकले के भन्ने होलान ? के भनेर जवाफ दिने भनेर समेत म एकदमै आत्तिने समेत गर्दथे । ५ दिन पछि बाहीर आँउदा सवैले मलाई तिमि ठुली भयौ अव भन्नुभयो, मलाई भने अचम्म लाग्दथ्यो किन यस्तो भनेको होलान ? आखिर मैले कतै केही गल्ती त गरेको छैन ? ५ दिन पछिको बाहीर निस्केपछी पनि २० दिनसम्म केही छुन नहुने रे, सुरु सुरुमा गाह्रो भयो तर पछि समस्याहरु समाधान भएपछी भने त्यस्तो केही महसुस भने भएन । पछि त प्रत्येक महिना हुँदा यसको बारेमा समेत जानकारी हुन थाल्यो र पछि त यसको बारेमा समेत खासै गाह्रो महसुुस भने भएको छैन । यसरी हेर्दा रजस्वाला हुनु भनेको प्राकृतिक कुरा हो र यसले कुनै पनि किशोरीहरुलाई केही असर पार्दैन भनेर घरपरिवार तहमा, विद्यालय तहमा र स्वयम साथिहरु विचमा नै कुराहरु गरिनु आजको आवश्यकता हो ।
समाजको विकासको क्रममा महिलाहरु र त्यसमाथि पनि किशोरीहरुलाई यसको बारेमा परेको प्रभावको बारेमा उनीहरुका अनुभवहरु सुनीनु आवश्यकता छ र साना साना किशोरीहरुलाई विद्यालयस्तर र घरपरिवार तहबाट नै यसको बारेमा जानकारी दिनु आवश्यक छ । रजस्वाला हुँदाको बखतमा गरिनुपर्ने सरसफाई र हेरचाहमा सवै सरोेकारवालाहरुको मुख्य रुपमा भुमिका हामीले देखेका छौ । म आफै स्वयम किशोरी भएर पनि होला, कहिले कहिले यहाँका भौतिक संरचनाहरु देख्दा भने किन होला, यो पुर्वाधारहरु किशोरीमैत्री बनाउन नसकिएको , किन कसैको पनि ध्यान यता तर्फ जादैन होला ? अहिले त स्थानीय तहमा जनप्रतिनिधीहरु पनि त आएका छन् अनी मुख्य रुपमा मुख्य पदमा एकजना महिला र वडास्तरको समितिमा पनि त महिलाहरुको सहभागिता त्यती धेरै भएको छ, तर पनि उहाँँहरुको ध्यान त्यतातर्फ किन गएको छैन खोई ? आशा गरौ सवै किशोरीहरुले अवको दिनमा यस्ता कुराहरुमा उहाँहरुको ध्यान जानेछ र सवै पुर्वाधारहरु किशोरीमैत्री, लैगिंकमैत्री, अपाँगमैत्री र बालमैत्री रुपमा निर्माण हुनेछ ।
समाजको सभ्यताको परिचय दिनको लागि पनि त अव त यि कुराहरुमा ध्यान दिनु आवश्यकता छ । हामी सवै मिलेर यो समाजलाई किशोरीमैत्री निर्माण गर्नुछ । सवैको चासो र ध्यान किशोरीमा दिनको लागि समेत अनुरोध छ ।
सपना पौडेल, देवचुली नगरपालिका, वडा नंं. 17,
किशोरी शसक्तिकरण कार्यक्रम, देवचुली, किशोरी अभियानकर्ता